काठमाडौं – स्टार लेग स्पिनर सन्दीप लामिछाने प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट गुमाउने भएका छन् । स्वास्थ्य अवस्थाका कारण उनले यो प्रतियोगिता खेल्न नसक्ने भएका हुन् ।
बाग्मती प्रदेशले बिहीबार नियमित कप्तान सन्दीपलाई बाहिर राखेर टिम घोषणा गरेको थियो । घोषित १५ सदस्यीय टोलीमा पृथु बास्कोटालाई कप्तान बनाइएको छ । सन्दीपले आफू खेल्न असमर्थता जनाएपछि पृथुलाई कप्तानी दिइएको हो ।
गत माघ ९ गते सन्दीपले हर्नियाको शल्यक्रिया गराएका थिए । सो पश्चात् उनी पूर्णरुपमा फिट भइसकेका छैनन् । उनलाई चिकित्सकले अझै केही दिन मैदानमा नफर्किन सुझाव दिएको स्रोतले बतायो ।
प्रधानमन्त्री कप फागुन २५ देखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन मैदानमा आयोजना हुँदैछ । यस प्रतियोगितामा ७ प्रादेशिक र ३ विभागीय गरी १० टोलीको सहभागिता छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।