काठमाडौं– आईसीसी च्याम्पियन्स ट्रफीको नवौं संस्करणसम्म पुग्दा न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध कीर्तिमानी रन स्कोर बनाएको छ । पाकिस्तानको लाहोरमा टस जित्दै पहिले ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३६२ रनको विशाल स्कोर बनाएको हो ।
दक्षिण अफ्रिकालाई दिएको आजको ३६३ रनको लक्ष्य च्याम्पियन्स ट्रफीमा हालसम्मकै यो उच्च स्कोर हो । यसअघि यही संस्करणमा समूह चरणमा अस्ट्रेलियाले इङ्ग्ल्यान्डविरुद्ध ३४६ रन बनाएको थियो । त्यसअघि सन् २००४ मा न्युजिल्यान्डले यूएसएविरुद्ध ३४७ रन बनाएको थियो ।
न्युजिल्यान्डका लागि दुई जना ब्याटरले शतक प्रहार गरे । रचिन रविन्द्रले १०१ बलमा १३ चौका र एक छक्का प्रहार गर्दै १०८ रन बनाए भने केन विलिमसनले पनि ९४ बलमा १० चौका र दुई छक्काको सहयोगमा १०२ रन बनाए ।
च्याम्पियन्स ट्रफीको इतिहासमा सेमिफाइनल चरणमा एकै टोलीबाट दुई जना ब्याटरले शतक प्रहार गरेको पनि यो पहिलोपटक हो ।
ओपनर विल यौङ्ग २१ रनमा आउट भएपछि रचिन रविन्द्र र विलियमसनले पारी सम्हालेका थिए । यस्तै ग्लेन फिलिप्सले पनि आक्रामक ब्याटिङ गर्दै २७ बलमा ४९ रनमा नटआउट रहे ।
यस्तै ड्यारेल मिचेलले ४९ रन बनाए । ३७ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे । यस्तै माइकल ब्रासवेलले १६ रनको योगदान दिए ।
दक्षिण अफ्रिकाका लागि लुङ्गी निग्ज्दीले तीन विकेट लिँदा कगिसो रबाडाले दुई र विम मुल्डरले एक विकेट लिए ।
पहिलो सेमिफाइनलमा मंगलबार भारत र अस्ट्रेलियाबीच भएको थियो । अस्ट्रेलियालाई पाँच विकेटले हराउँदै भारत फाइनलमा पुगिसकेको छ । आजको खेलमा जित हात पार्नेले फाइनल खेल भारतसँग उपाधिका लागि खेल्नेछ । आयोजक पाकिस्तान भए पनि भारत फाइनलमा पुगेका कारण उपाधि भिडन्त दुबईमा हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।