काठमाडौँ – नेपाली महिला क्रिकेट टोलीकी सदस्य तथा यु–१९ टोलीकी कप्तान पूजा महतो र कविता कुवँर एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् ।
नीजि क्षेत्रबाट निर्मित अन्तराष्ट्रिय क्रिकेट मैदानले पूजा र कवितालाई आगामी २ वर्षका लागि ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको हो । एक्स्ट्राटेकका निर्देशक विनोद कुँवरले पूजा र कवितासँग आइतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निमार्णाधिन मैदानमा कार्यक्रमकाबिच सम्झौता गरेका छन् ।
एक्स्ट्राटेकका निर्देशक कुँवरले नेपाली महिला क्रिकेट खेलमा सानो भएपनि योगदान गर्ने र खेलाडीलाई खेलमा केन्द्रीत हुने वातावरण सिर्जना गर्ने उद्देश्यले पूजा र कवितालाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको बताए ।
उनले नेपाली महिला क्रिकेटको भविष्य उज्जवल रहेको र युवा खेलाडीहरुले नियमति रुपमा खेल्ने अवसर पाएमा टेस्ट राष्ट्रको दाजोमा पुग्न सक्ने महसुस गर्दै सानो सहयोग गरेको बताएका छन् ।
निर्देशक कुँवरले खेलाडीलाई खेलेर जीवन धान्न सकिन्छ भन्ने देखाउन र उनीहरुको हौसला बढाउन यस प्रकारको कामले प्रेरित गर्ने बताउँदै खेलाडीलाई खेलमा ध्यान केन्द्रीत गर्ने अवस्था बनाउनु जरुरी रहेको बताए ।
उनले ब्राण्ड एम्वेसडरको सम्झौतालाई निरन्तरता दिन प्रतिबद्धता जनाउँदै आगामी दिन अन्य खेलाडीलाई समेटेर लैजाने योजना रहेको सुनाए ।
कार्यक्रममा नेपाल क्रिकेट संघ(क्यान)का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले क्यानकै प्रोटोकलभित्र रहेर २ खेलाडीलाई एक्स्ट्राटेकको ब्रान्ड एम्बेसडर बनेको बताउँदै यस प्रकारको सहयोगले खेलाडी र क्रिकेटको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले नीजि लगानीमा सबै सुविधायुक्त क्रिकेट मैदान निमार्ण गरि ऐतिहासिक काम गरेको अवस्थामा खेलाडीका लागि अर्को कामले नेपाली क्रिकेटमा उत्साह थपेको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।