एजेन्सी – बर्षाका कारण पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल रद्द गरिएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।
गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको थियो । च्याम्पियन्स ट्रफीको इतिहासमा पाकिस्तान र बंगलादेशबीचको यो पहिलो भेट रहेको थियो ।
सान्त्वना जितको खोजीमा रहेका दुवै देशले समान १ अंकका साथ प्रतियोगिता समाप्त गरेका छन् । यस समूहबाट भारत र न्युजिल्याण्डले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । आइतवार हुने भारत र न्युजिल्याण्डको खेल पछि यो समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो शुक्रवारको खेल पछि लाग्नेछ । शुक्रवार अफगानिस्तान र अस्ट्रेलियाबीच खेल हुनेछ । यो खेलमा विजयी हुने टोली सेमिफाइनलमा पुग्दा पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।