एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले आगामि च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । ढाडमा लागेको चोटट पूर्णरुपमा निको नभएपछि च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता पनि गुमाउने भएका हुन् ।
बुमराहको स्थानमा हर्षित रानालाई टोलीमा समावेश गरिएको छ । जसले इङ्ग्ल्याण्डविरुद्धको जारी ओडिआई सिरिजमा डेब्यु गरेका थिए । आइसिसीले फेब्रुअरी ११ मा च्याम्पियन्स ट्रफीका लागि सहभागी सबै टोलीलाई अन्तिम १५ खेल बुझाउने समय सिमा तोकेको थियो ।
भारतले पनि सोमवार अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको हो । मोहम्मद सिराजलाई पछि पार्दै रानाले टोलीमा स्थान बनाएका हुन् । भारत च्याम्पियन्स ट्रफीको समूह ‘ए’ मा रहेको छ । भारतले फेब्रुअरी २० मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेलमा भारतले फेब्रुअरी २३ मा पाकिस्तानसँग र तेस्रो खेलमा मार्च २ मा न्युजिल्यान्डसँग खेल्नेछ । भारतले आफ्ना सबै खेल दुबईमा खेल्नेछ ।
भारतको टोलीः रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, ऋषभ पन्त, हार्दिक पाण्ड्या, अक्षर पटेल, वासिङ्टन सुन्दर, कुलदीप यादव, हर्षित राना, मोहम्मद शामी, अर्शदीप सिंह, रवीन्द्र जडेजा र वरुण चक्रवर्ती ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।