काठमाडौँ – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले शनिबार सम्म बाँकी रहेका बन्धकको रिहा नगरे गाजामा पुनः भीषण हमला सुरु गर्ने चेतावनी दिएका छन् ।
हमासले थप बन्धकहरूको रिहाइ स्थगित गर्ने घोषणा गरेपछि इजरायली सेना गाजाभित्र र वरपर व्यापक रूपमा परिचालन गर्न आदेश उनले दिइसकेका छन् । उनले बाँकी रहेका ७६ जना सबै बन्धकहरूको रिहाइ माग गरेका हुन् वा शनिबार रिहा हुने तय भएका तीन जनामात्र माग गरेका हुन् भन्ने खुलाइएको छैन् । तर, एक मन्त्रीले भनाइ उदृत गर्दै बीबीसीले भन्यो, ‘उहाँले सबैलाई भन्नुभएको हो ।’
हमासले तीन सातादेखिको युद्धविराम सम्झौता उल्लङ्घन गरिरहेको आरोप लगाउँदै आवश्यक मानवीय सहायता रोकिएको दाबी गरेको छ । इजरायलले भने यो आरोप अस्वीकार गरेको छ । नेतान्याहूको बयानपछि, हमासले आफू युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको बताउँदै इजरायल ‘कुनैपनि जटिलता वा ढिलाइको जिम्मेवार’ रहेको बताएको छ ।
यसैबीच, हमासले यस सप्ताहान्तका लागि तय गरिएको बन्धकहरूको रिहाइ स्थगित गर्ने निर्णय गरेपछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई युद्ध विराम सम्झौता पूर्ण रूपमा रद्द गर्न र सम्पूर्ण बन्धकहरू शनिबारसम्म फिर्ता नभए गाजालाई नर्क बनाइदिन सुझाव दिएका छन् ।
मंगलबार इजरायली सुरक्षा र मन्त्रिपरिषद्को चार घण्टाको बैठकपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भिडियो सन्देशमार्फत अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको मागलाई ‘स्वागतयोग्य’ भनेका छन् ।
नेतान्याहूले थपे, ‘हमासले सम्झौता तोड्ने र हाम्रा बन्धकहरू नछाड्ने घोषणा गरेपछि मैले इजरायली रक्षा बल (आइडिएफ) लाई गाजाको भित्र र वरपर ठूलो संख्यामा सेना परिचालन गर्न निर्देशन दिएको छु ।’
उनले सुरक्षा मन्त्रिपरिषद्ले सर्वसम्मत रुपमा निर्णयहरु अनुमोदन गरेको भन्दै हमासलाई अन्तिम चेतावनी दिँदै भने,’यदि हमासले शनिबार मध्यान्हसम्म हाम्रा बन्धकहरू फिर्ता गरेन भने युद्धविराम अन्त्य हुनेछ, र हमासको पूर्ण पराजयसम्म इजरायली सेनाले गाजामा कडा सैन्य कारबाही जारी राख्नेछ ।’ एजेन्सी ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।