रुपन्देही –अवैध रुपमा भारत लैजान लागेका ६ जना किशोरीहरूको उद्धार गरिएको छ । रूपन्देहीको बेलहिया नाका हुँदै भारत लैजान लागेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलहिया र भैरहवामा रहेको माइती नेपालको आवधिक गृहले उनीहरूलाई नाकाबाट उद्धार गरेका हुन् ।
माइती नेपाल भैरहवाकी प्रमुख माया क्षेत्रीका अनुसार भारत लैजान बेलहिया नाका पार गर्न बाटोमा हिँडिरहेका उनीहरूलाई सोधपुछ गर्दा शंका लागेपछि प्रहरीको जिम्मा लगाइएको थियो । किशोरीहरूले आफूहरूलाई भारतको राजस्थान जोतपुरमा काम लगाइदिने भनेपछि त्यसतर्फ जान तयार भएको बताएका छन् ।
रूपन्देहीस हित कपिलवस्तु, गुल्मी, सिन्धुली लगायतका जिल्लाका ती किशोरीलाई उनीहरूकै आफन्तले १० हजार भारतीय रूपैयाँ तलब पाउने गरि लैजाने बताएका थिए । घरको सरसफाइ र बिरामीको हेरचाहको काममा लगाइदिने र १० हजार तलब दिने भनेपछि परिवार पनि सहमत भएका थिए ।
उद्धार गरिएका किशोरीहरूले भारत जानका लागि टिकटवापत लाग्ने खर्च समेत भारतबाटै काटेर पठाएको प्रहरी सामू बताएका छन् । किशोरीहरूले भारत लैजान खोज्नेहरूसँग आफूहरू फेसबुकबाट जोडिएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।