काठमाडौं– हर्नियाको शल्यक्रिया गराएका क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्। सिल्भर लाइन अस्पतालले आज उनलाई घर पठाएको हो।
सन्दीपले गत ९ गते सो अस्पतालमा हर्नियाको शल्यक्रिया गराएर स्वास्थ्यलाभ गरिरहेका थिए। हाल उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रवन्धक डा. अभिषेकराज सिंहले बताए। यही गतिमा रिकभर भएमा सन्दीप दुई–तीन हप्ता पछि नै मैदान फर्किन सक्ने उनको भनाइ छ।
सिल्भरलाइन अस्पतालमा शल्यचिकित्सक डा. दिपक शर्मा नेतृत्वको टोलीले सन्दीपको शल्यक्रिया गरेको थियो। सन्दीप करिब ४ वर्षदेखि हर्नियाको समस्याबाट पीडित भइरहेका थिए। बीचमा मुद्दा मामिला र खेलको व्यस्तताले उनले शल्यक्रिया गराउन भ्याएका थिएनन्। अहिले खाली समय पारेर उनले शल्यक्रिया गरेका हुन्।
आज डिस्चार्ज हुने क्रममा नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंह अस्पतालमा पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।