काठमाडौँ –नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा हुने त्रिकोणात्मक टी–२० शृंखलाका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले आज इन्दू बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा माघ १७ गतेदेखि २५ गतेसम्म नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच त्रिकोणात्मक शृंखला हुँदै छ।
नेपाली टोलीमा हालै मलेशियामा भएको आईसीसी यू–१९ महिला विश्वकप खेलेर फर्किएको टोलीकी कप्तान पूजा महतोसहित अलिसाकुमारी यादव र प्रधानमन्त्री कपमा सहभागी सुदूरपश्चिमका रेवती धामी, इश्वरी विष्ट र मनिषा उपाध्यायलाई पनि समावेश गरिएको छ।
सबै टोलीले आपसमा २/२ पटक प्रतिष्पर्धा गर्नेछन्।
यस्तो छ खेल तालिका
नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्नेछ। माघ १८ गते नेदरल्यान्ड्स र थाइल्यान्डबीच प्रतिष्पर्धा हुनेछ। नेपालले माघ १९ गते थाइल्यान्डसँग खेल्नेछ भने माघ २० गते नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुनेछ।
माघ २१ गते थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ गते थाइल्यान्ड र नेपाल, माघ २३ गते नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछन्।
माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्डले प्रतिष्पर्धा गर्नेछन् भने माघ २५ गते नेपाल र थाइल्यान्डबीच खेल हुनेछ।
नेपाली टोली
इन्दु बर्मा (कप्तान), कविता कुँवर, राजमती ऐरी, अलिसाकुमारी यादव, सीता रानामगर, विन्दु रावल, पूजा महतो, ममताकुमारी चौधरी, कविता जोशी, रोमा थापा, इश्वरी विष्ट, सम्झनाकुमारी खड्का, रुविना क्षेत्री, मनिषा उपाध्याय र रेवती धामी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।