काठमाडौँ – विभिन्न देशका चर्चित तथा उत्कृष्ट खेलाडीले भरिपूर्ण दुवईमा जारी तेस्रो संस्करणको इन्टरनेशनल लिग टी–२० (आईएल टी–२०) खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुसल मल्ल त्यहाँ छन् । जारी सिजन करिव आधा सकिदा पनि मल्ल र ऐरीले डेब्यू गर्ने मौका भने पाएका छैनन् ।
जारी सिजनमा दिपेन्द्र आबद्ध गल्फ जायन्ट्सले दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्नेक्रममा गल्फले गएराति सम्पन्न खेलमा एमआई इमिरेट्सविरुद्ध २ विकेटको रोमाञ्चक जित निकाल्यो । यस खेलमा एमआईले दिएको १ सय ५२ रनको लक्ष्य गल्फले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि जायद क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको एमआईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५१ रन बनायो । उसका लागि टम ब्यान्टनले ३९ बलमा ८ चौका र एक छक्कासहित सर्वाधिक ५६ रन बनाए । दीपेन्द्रले यस खेलमा पनि डेब्यूको मौका पाएनन् । जारी सिजनमा गल्फले ६ म्याच खेलिसक्दा पनि उनले डेब्यूको मौका नपाएका हुन् ।
दीपेन्द्रआबद्ध गल्फ अहिले तालिकाको पाँचौं स्थानमा छ । यस्तै, अर्का नेपाली अलराउन्डर कुशल मल्लआबद्ध डेजट भाइपर्सले छैटौँ जित निकाल्ने क्रममा शारजाह वारियर्सलाई ८ विकेटले हराएको छ । डेजर्टले ७ म्याच खेल्दासम्म कुशलले पनि आईएल टी–२० मा डेब्यूको मौका पाएका छैनन् । उनीआबद्ध डेजर्ट ७ खेलबाट १२ अंकसहित अहिले तालिकाको शीर्ष स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।