काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जितेको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको ६८ रनको सामान्य लक्ष्य एपीएफले ४३ बल बाँकी छँदै एक विकेट गुमाएर पूरा गरेको हो ।
उसका लागि ममता चौधरीले सर्वाधिक ४३ र इन्दु बर्माले १८ रनको योगदान गरिन् । यसअघि प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेश ११ बल बाँकी छँदै ६७ रनमा अलआउट भएको थियो ।
उसका लागि मनिषा बोहराले आउट नभइ सर्वाधिक १८ रन बनाइन् भने कप्तान बिन्दु रावलले १७ रनको योगदान गरिन् । अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । तीन खेलाडी शून्य र तीन खेलाडी एक रनमा आउट भएका थिए ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न एपीएफकी कविता जोशीले ३, सबनम राई र इन्दु बर्माले समान २÷२ विकेट लिँदा करुणा भण्डारीले एक विकेट खसालिन् । प्रतियोगिताको उपाधि विजेता एपीएफले नगद ५ लाख रुपैयाँ र उपविजेता सुदूरपश्चिम प्रदेशले ३ लाख पुरस्कार पाएका छन् । एपीएफले गत बर्षको विजेता टोलि समेत हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।