काठमाडौं– आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली मलेसियाले सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
यस अघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
नेपालका लागि कप्तान पुजा महतोले ४, रचना चौधरीले ३ तथा रिया शर्मा र सिमाना केसीले समान १ विकेट लिए । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए ।
त्यस्तै नेपालकी कप्तान पूजा महतो हालसम्म सर्वाधिक विकेट लिने बलर बनेकी छन् ।
आज आयोजक मलेसियासँगको खेलमा उनले आफ्नो खातामा चार विकेट थपिन् ।
पहिलो पटक विश्व कप खेलिरहेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । विश्व कपको समूह ‘डी’ मा रहेको नेपालले स्कटल्याण्ड, अस्ट्रेलिया र बंगलादेशसँग हार बेहोरेको थियो । उता, मलेसिया भने भारत, श्रीलंका र वेस्ट इण्डिजसँग पराजित भएको थियो ।
मलेसिया र नेपाल यू–१९ सन् २०२३ विश्व कपको एसिया छनोटमा एक पटक आमने सामने भएका छन् । त्यो भेटमा नेपाल २५ रनले विजयी भएको थियो । नेपाली यू–१९ टिममा बुधवार अस्ट्रेलियाविरुद्ध खेलेको टिममा २ परिवर्तन भएको छ । बुधवार खेलेकी त्रिसना विक र अनु कडायतको स्थानमा कुशुम गोदार र स्नेहा महराले मौका पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।