काठमाडौं - आइसिसी यू–१९ महिला विश्व कपमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।
मलेसियाको जोहार क्रिकेट एकेडेमी मैदानमा नेपालकी कप्तान पुजा महतोले टस जितेर फिल्डिङ रोजेकी हुन् । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए ।
पहिलो पटक विश्व कप खेलिरहेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । विश्व कपको समूह ‘डी’ मा रहेको नेपालले स्कटल्याण्ड, अस्ट्रेलिया र बंगलादेशसँग हार बेहोरेको थियो । उता, मलेसिया भने भारत, श्रीलंका र वेस्ट इण्डिजसँग पराजित भएको थियो ।
मलेसिया र नेपाल यू–१९ सन् २०२३ विश्व कपको एसिया छनोटमा एक पटक आमने सामने भएका छन् । त्यो भेटमा नेपाल २५ रनले विजयी भएको थियो । नेपाली यू–१९ टिममा बुधवार अस्ट्रेलियाविरुद्ध खेलेको टिममा २ परिवर्तन भएको छ । बुधवार खेलेकी त्रिसना विक र अनु कडायतको स्थानमा कुशुम गोदार र स्नेहा महराले मौका पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।