काठमाडौं– साविक आदर्श गाविस भवानीपुर जीतपुर हालको जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
तत्कालीन गाविस सचिव आस महमद अन्सारीविरुद्ध ३८ लाख ३० हजार ५०० भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको हो।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अन्सारीले गुदरी बजार र मिना बजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा लिएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरू लुकाइ बरबुझारथ समेत नगरेको र २२१ जना उपभोक्ताहरूबाट लिएको धरौटी वापतको ३८ लाख ३० हजार ५०० रुपैयाँ खातामा जम्मा नगरेको अनुसन्धानबाट खुलेको छ।
आयोगका अनुसार धरौटी वापत विभिन्न २१२ जनासँग लिएको रकमको विवरणसहितका कागजात तथा अन्य सरकारी सार्वजनिक निकायको कागजात लुकाएको र नोक्सान गरेको पुष्टि भएको हुँदा अन्सारीलाई भ्रष्टाचार ऐन,२०५९ को दफा १२ बमोजिमको कसुरमा कैद र जरिवाना सजायसमेतको माग दावी गर्दै अभियोग पत्र दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।