काठमाडौं– आईसीसी यू-१९ टी२० महिला विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ रनको सामान्य लक्ष्य दिएको छ।
मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अल आउट भएको हो ।
नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ रन जोडिन् । सावित्री धामीले १० रन जोड्नु बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
स्कटल्याण्डकी माइसी म्याकेरिया एक्लैले पाँच विकेट लिइन्। उनले पूजा महतो, सीमाना केसी र अलिसा यादव तीनै जनाको विकेट एकै ओभरमा लिएपछि नेपालको स्कोर रोकिएको थियो। उत्कृष्ट सुरुवात गरे पनि नेपालको मिडिल अर्डर चल्न नसक्दा एक सयजतिको स्कोर पुग्ने सुरुवात भए पनि ७३ मै समेटियो।
अमि बलडाइ र नइमा शेखले समान २ तथा क्रिस्टी म्याकोलले १ विकेट लिइन् ।
पहिलो खेलमा पराजित दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । स्कटल्याण्ड भने पहिलो खेलमा अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको थियो ।
नेपालले आज दुई परिवर्तन गरेको छ।
सोनी पाख्रिन र तृष्णा विकको स्थानमा ज्योत्सनिका मरासिनी र कृष्मा गुरूङ टिममा आएका छन्।
नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो। आजको खेल जित्दै सुपर सिक्स सम्भावना बलियो बनाउन चाहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।