जनकपुरधाम– जबरजस्ती करणी मुद्दामा पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिका- १ का वडाध्यक्ष धीरेन्द्रकुमार साह अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पुगेका छन्।
सप्तरी जिल्ला अदालतको आदेशले वडाध्यक्ष साह र शिक्षक राजनारयण साह थुनामा पुगेका हुन्। न्यायाधीश दीपक धितालको सोमबारको इजलासले दुबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
साह उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। नवनिर्वाचित वडाध्यक्ष साह मंसिर २० मा शपथ लिँदै गर्दा पक्राउ परेका थिए।
नवनिर्वाचित वडाध्यक्षसहित ६ जनाविरुद्ध जबरजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति बेपत्ता गरेकोसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता रहेको छ।
सन्तोषीकुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप वडाध्यक्ष साहसहितका समूहमाथि लागेको छ। आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका १३ वर्षका भाइ नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोपमा मुद्दा दर्ता भएको थियो।
२०७९ फागुनमा डाक्नेश्वरी नगरपालिका- १ माधोपुर टोलस्थित आँपको बगैंचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी बेपत्ता पारिएको थियो। अहिलेसम्म पनि नितिश बेपत्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।