काठमाडौं– जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत सोमबार दोस्रो दिनको खेल भइरहेको छ। पर्साको वीरगन्जमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको खेलमा टी ब्रेक भएको छ।
पुलिस पहिलो इनिङमा अलआउट भएपछि दोस्रो इनिङ सुरू गरेको आर्मीले टी ब्रेकसम्म पुग्दा अलआउट हुँदै १७५ रन बनाएको छ। योसँगै आर्मीले १७१ रनको अग्रता कायम गर्दै पुलिसलाई जितका लागि १७२ रनको लक्ष्य दिएको छ।
आर्मीका सोमपाल कामी ८२ रनमा अविजित रहे। तृतराज दासले ३४ रन बनाए। पुलिसका कुशल भुर्तेलले ४ विकेट लिँदा गुल्शन झाले ३, ललित राजवंशीले २ तथा राशिद खानले १ विकेट लिए।
पुलिसले ७ विकेटको क्षतिमा १०३ रनको अवस्थाबाट दोस्रो दिनको खेल सुरू गरेकोमा त्यसपछि २२ रन जोड्दा अलआउट भएपछि ४ रनको अग्रता बनाएको थियो। पुलिसका गुल्शन झाले सर्वाधिक ४७ रन बनाए। आर्मीका साहब आलम एक्लैले ८ विकेट लिँदा सोमपाल कामी र पवन कार्कीले १-१ विकेट लिएका थिए।
त्यसअघि ललित राजवंशी एक्लैले ७ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ३४.४ ओभरमा १२१ रनमा समेटिएको थियो। कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए।
पुलिसले अब अन्तिम सेसनमा १७२ रन बनाउनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।