जनकपुर– आजदेखि मधेश प्रदेशमा एलाइट (जय ट्रफी) कप सुरु हुँदै छ। वीरगञ्जको नारायणी क्रिकेट मैदान र जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको जय ट्रफी कप प्रतियोगिताको तयारी पूरा भएको शनिबार नै आयोजकले जानकारी दिएको थियो।
‘जय ट्रफी मेन्स एलाइट कप’ नामकरण गरिएको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेशको सहभागिता रहने आयोजकले जनाएको छ। सेतो जर्सी तथा रेड बलको प्रयोगमा खेलिने प्रतियोगिता पुस २१ देखि माघ ३ गतेसम्म हुने भएको छ।
सो प्रतियोगिताको नाम क्यान इलाइट कपबाट जय ट्रफी पुरुष इलाइट कप नामकरण गरिएको छ। संघका पूर्वअध्यक्ष स्व.जयकुमार नाथ साहको नाममा प्रतियोगिताको नामकरण गरिएको हो। साहले क्रिकेट खेलको विकासमा लामो समयसम्म महत्वपूर्ण योगदान पुर्याएका थिए।
नेपाल क्रिकेट संघका पूर्वपदाधिकारी एवं सदस्यको नाममा नामकरण गर्दै नेपाली क्रिकेटको गर्विलो इतिहास बोकेको ‘जय ट्रफी’लाई नेपालको प्रिमियर बहुदिवसीय क्रिकेट प्रतियोगिताका रुपमा पुनःस्थापना गरी भविष्यमा प्रथम श्रेणीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका रुपमा रुपान्तरण गर्ने लक्ष्य रहेको नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।