काठमाडौं– नेपाल प्रिमियर लिगको फाइनलमा जनकपुर बोल्ट्स प्रवेश गरेको छ।
कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो।
बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुादा ८ विकेट गुमाएर पूरा गरेको हो।
जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । उनले १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । अर्धशतक बनाउँन ५ रनले चुकेका निशम विपिन शर्माको बलमा बोल्ड आउट भए ।
हर्ष ठाकर २६ बलमा १७ रन बनाउँदै रन आउट भए । आकाश त्रिपाठीले २० बलमा १३ रन जोडे । आकाश जिशान मक्शुदको बलमा आउट भए । ओपनर शुभ कसांकार ३ रनमा विपिन शर्माको बलमा आउट भए ।
मयन यादवले ७ रन बनाउँदा जीवनदान पाएका थिए । नन्दन यादवको बलमा विकेटकिपर चाल्डिक वाल्टनले क्याच ट्रप गरेका थिए । ७ रन थप्दै मयन दुुई लिने चक्करमा रन आउट भए । आसिफ शेख ४, लाहिरु मिलन्था २ तथा मोहम्मद मोहसिन १ रनमा आउट भए । शेर मल्ल १० बलमा १६ रनमा नट आउट रहे ।
कर्णालीका लागि युवा बलर विपिन शर्माले ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए । कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जिशान मक्सुदले समान १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल तयार गरेको थियो ।
कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । ओपनर देव खनालले २० बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन जोडे । देव जेम्स निशमको बलमा आकाश त्रिपाठीद्वारा समातिए ।
विलियम बोसिस्टोले १५ बलमा १ चौकाको सहयोगमा १४ रन जोडे । बोसिस्टो ललितनाराण राजवंशीको बलमा विकेट किपर लाहिरु मिलन्थाबाट समातिए । जिशान मक्सुद ११ बलमा २ चौकाको सहयोगमा १२ रन जोडे । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान सोमपाल कामी ५, अघिल्लो खेलमा अर्धशतक बनाएका जयकिशन कोल्सावाला १ तथा अर्जुन घर्ती २ रनमा आउट भए ।
युनिस विक्रमसिंह ठकुरी १२ रनमा आउट हुँदा नन्दन यादव ४ रनमा नट आउट रहे । जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान २ तथा हर्ष ठाकर र शेर मल्लले समान १ विकेट लिए ।
यसअघि नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ। अब शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।