काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ। ७ खेलमा ६ जितसँगै सुदूरपश्चिम लिगको अंकतालिकामा शीर्ष स्थान कायम गर्न सफल भयो।
कर्णालीले दिएको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्डर प्रदर्शन गरे।
उनले ब्याटिङ २९ बलमा ३८ रन बनाए। बलिङतर्फ उनले २ विकेट लिए। ब्याटिङमा उनले इशान पाण्डेसँग चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए। इसान ३८ रनमा अविजित रहे। कर्णालीको बलिङमा कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले एकएक विकेट लिए।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको थियो। कर्णालीका जिसन मक्सदले सर्वाधिक ३० रन जोडे। बाबर ह्यायतले १३, चाडविक वाल्टनले ११, विलियम वासिष्ठाले १६ र कप्तान सोमपाल कामीले ११ रन बनाएका थिए।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। गुल्सन झा २, देव खनाल ७ र रित गौतम शून्य रनमा आउट भए। कर्णालीले इनिङ भरी नै एउटा पनि छक्का प्रहार गर्न सकेन। बलिङमा सुदूरपश्चिमका बलर हाबी भए। हर्मित सिंहले ३, स्कट कुइगेलेनले २ र सेफ जफरले एक विकेट लिए।
हारका बाबजुद कर्णाली प्लेअफमा स्थान बनाएको छ। काठमाडौंलाई रनरेटमा पछि पार्दै कर्णालीले प्लेअफमा स्थान बनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।