काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ।
पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो।
काठमाडौंका ओपनर स्टेफेन इस्किनाजीले अर्थशतक पूरा गरे। उनले ३४ बलमा ६० रन बनाएर आउट भए। काठमाडौंका लागि स्टेफेन र माइकल लेभिटले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। लेभिटले ३२ रन बनाए।
भीम सार्की २२, कप्तान करण केसी १ रनमा आउट हुँदा गेरहार्ड इरास्मस २५ रनमा अविजित रहे। बलिङमा पोखराका विपिन खत्रीले ३ र माइकल लिस्कले एक विकेट लिए।
यस अघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला बलिङ रोजेका हुन्।
उक्त निर्णयलाई स्वागत गर्दै क्रिजमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३८ रन बनायो।
पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाए। त्यस्तै दिनेश खरेलले ३८ रन बनाए। सो क्रममा उनले एक छक्का चार चौका प्रहार गरे। दिलिपनाथले २७ रन बनाएर आउट भए। कप्तान कुशल भुर्तेलले ७ रन मात्र बनाए। अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन्।
काठमाण्डुका लागि कप्तान करण केसी र रसिद खानले सर्वाधिक समान तीन / तीन विकेट लिए। यस्तै, गेरहार्ड इरास्मसले एक विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।