काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार पनि दुई खेल हुदैछ।
पहिलो खेलमा काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।खेल टीयू मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुनेछ।
यस खेल दुवै टिमलाई निकै महत्वपूर्ण छ। यी दुई टिममध्ये एक टिमको मात्र ८ अंक सम्भव हुन सक्नेछ । दुवै टिमले समान ५ खेल खेलेका छन् । त्यसमा पनि समान २ जित र ३ हारबाट समान ४ अंक छ । दुवैले एकआपमसा खेलेपछि अन्तिम खेल खेल्न बाँकी नै हुनेछ ।
त्यसैले दुवै टोली आजको खेल जितेर प्लेअफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छन्।
काठमान्डु र पोखरामध्ये आज जित्ने टिमले आइतबार हुने आफ्नो अन्तिम खेल जितेमा प्लेअफ पुग्न सक्छ।
त्यस्तै दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दै छन्। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरू हुनेछ।
चितवन शुक्रबार भएको खेलमा विराटनगरसँग पराजित भएको थियो भने जनकपुरले काठमाण्डुलाई हराएको थियो।
जनकपुरले प्लेअफ खेल्ने समेत पक्का भइसकेको छ। अब जनकपुरको लक्ष्य भनेको शीर्ष २ मा पर्दै क्वालिफायर खेल्ने हुनेछ। यता चितवन भने शुक्रबारको हारपछि जित्नैपर्ने दबाबमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।