हुम्ला – खानेपानीमन्त्री प्रदीप यादवले हामी सबैको सामूहिक प्रयासले हुम्ला जिल्ला एक स्वच्छ, सुरक्षित र खानेपानीमा आत्मनिर्भर क्षेत्र बन्ने बताएका छन्।
आज हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट खानेपानी आयोजना वडा नं ५, ६ र ७ को अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले हुम्ला जिल्लावासीलाई स्वच्छ, सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
उनले भने, “म तपाईहरु सबैलाई आह्वान गर्दछु कि आफ्नो गाउँ र समुदायको सुधारमा हातेमालो गरौँ। हामी सबैको सामूहिक प्रयासले हुम्ला जिल्ला एक स्वच्छ, सुरक्षित, र खानेपानीमा आत्मनिर्भर क्षेत्र बन्ने छ।”
सोही क्रममा बोल्नु हुँदै मन्त्री यादवले हुम्लाको दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुद खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आर्थिक वर्षमा सरकारले महत्त्वपूर्ण खानेपानी तथा ढल व्यवस्थापनका विभिन्न योजनाहरु अगाडि सारेको जानकारी दिए।
उनले भने, “खानेपानी पहुँचको दिगो समाधानका लागि मन्त्रालयबाट महत्त्वपूर्ण खानेपानी तथा ढल व्यवस्थापनका योजनाहरु अगाडि सारेको छु। यस कार्यमा समुदायको सहकार्य र समर्थन आवश्यक छ।”
समुद्री सतहबाट दुई हजार नौँ सय मिटरको उचाइमा रहेको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट क्षेत्र भौगोलिक रुपमा दुर्गम भएपनि नागरिकहरुको आवश्यकता र अधिकारलाई राज्यले उपेक्षा गर्न नसक्ने समेत मन्त्री यादवले बताए।
अनुगमनकै क्रममा मन्त्री यादवले आफूसहित सिङ्गो मन्त्रालय हुम्लाका सबै नागिरकलाई स्वच्छ र सुरक्षित पानी उपलब्ध गराउन प्रतिबद्ध रहेको जानकारी गराए। समुदाय (आधारित व्यवस्थापन) खानेपानी प्रणालीहरुको दीगो सञ्चालन र व्यवस्थापनका लागी स्थानीय समुदायको सहभागीता सुनिश्चित गर्ने तथा प्राकृतिक स्रोतको संरक्षण, जल स्रोतहरु जोगाउन र दीगो रुपमा उपयोग गर्न समुदायसँग मिलेर काम गिरने एवं संरक्षणका लागि कानुन र नीति कार्यान्वयनलाई प्रभावकारी बनाइने मन्त्री यादवको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।