काठमाडौं– यस वर्षको पहिचान पुरस्कार राजु स्याङ्तानको कविता संग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गरिने भएको छ।
पहिचान पुरस्कार कोषको शुक्रबार बसेको बैठकले जुरीको निर्णयलाई आधार मानी उत्कृष्ट आठ पुस्तकमध्येबाट उक्त कृतिलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।
पुरस्कारको राशि चार लाख दुई हजार दुई रुपैयाँ रहेको छ।
‘ओ पेङदोर्जे’ कविता संग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पहिचानका लागि संघर्ष गर्ने र जीवन आहुति दिने तामाङ समुदायका व्यक्तिको कथा भन्छ।
पुस्तकमा सङ्गृहित कवितामा सांस्कृतिक जागरणको आव्हान गर्दै आफ्नो पहिचान रक्षाका लागि आवाज उठाइएको छ। विषय, शिल्प, शैली, प्रस्तुति सबै दृष्टिकोणले उत्कृष्ट रहेकाले कविता सङ्ग्रह’ ओ पेङ्दोर्जे’लाई पहिचान पुरस्कार दिने घोषणा गरिएको संस्थापक नरेश काङमाङ राईले जानकारी दिए।
पुरस्कार आगामी चैत २३ गते भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ को चखियाडाँडामा वितरण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।