काठमाडौं– नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको यात्रा अन्त्य भएको छ।
आज भएको आफ्नो अन्तिम खेलमा लुम्बिनीले कर्णाली याक्ससँग ५ रनको साँघुरो हार स्वीकारेको हो।
आजको जितले कर्णाली प्लेअफको नजिक पुगेको छ।
कर्णालीले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन मात्र जोड्यो।
लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे। उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। सन्दीप जोरा २१ बलमा २ छक्काको सहयोगमा २४ रन जोडे। सन्दीप विलियम बोसिस्टोको बलमा दीपक डुम्रेबाट समातिए।
ओपनर आशुतोष घिरैयाले २१ बलमा १६ रन जोडे। घिरैया जिशान मक्शुदको बलमा बोसिस्टोबाट समातिए। अर्का ओपनर अर्जुन साउद कप्तान सोमपाल कामीको बलमा गुलशन झाबाट समातिए। कप्तान रोहित पौडेल १० रन बनाउँदै जिशान मक्शुदको एलबिडब्लु धरापमा परे
अन्तिम ओभरमा जितका लागि ९ रनको आवश्यकता भएकोमा कर्णालीका नन्दन यादवले ३ रन मात्र खर्चिएर टिमलाई प्लेअफ नजिक पुर्याए।
यस अघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो।
कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाएबैंक ३० बल खेलेका उनले समान ३ चौका र ३ छक्का प्रहार गरे अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए।
बलिङमा लुम्बिनीका लागि एनपीलएका डेब्यु गरेका विकास आग्रीले ३ तथा तिलक भण्डारीले २ विकेट लिए, एनपीएलमा पहिलो खेल खेलेका दुई बलर मिलेर ५ विकेट लिएका हुन्।
आजै दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।