काठमाडौं– मलेसियामा आगामी साता सुरू हुने एसीसी यू-१९ महिला एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक कार्यक्रम आयोजना गरी टोलीको बिदाई गरिएको हो।
यू१९ महिला एसिया कप यही डिसेम्बर १५ देखि सुरू हुँदै छ।
नेपाल, भारत र पाकिस्तान समूह बी मा छ। नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग र डिसेम्बर १७ मा भारतसँग खेल्नेछ। समूह ए मा आयोजक मलेसियासँगै श्रीलंका र बंगलादेश छन् ।दुवै समूहको शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन्।
यू१९ महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक महेश प्रसाद रिजालले यू१९ एसिया कपका लागि राम्रो तयारी भएको र उत्कृष्ट प्रदर्शन गर्ने बताए।
यसैगरी यू१९ महिला टिमकी कप्तान पुजा महतोले क्याम्प राम्रो भएको र यू१९ एसिया कपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन्।
क्यानले पुजाको कप्तानीमा यसअघि नै १५ सदस्यीय टोली घोषणा गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।