काठमाडौं– विप्रेषण (रेमिट्यान्स) आप्रवाह ९ प्रतिशत भन्दा बढीले बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिनाको तथ्यांक अनुसार यस अवधिमा रेमिट्यान्स आप्रवाहमा ९.१ प्रतिशतले वृद्धि भएको हो।
यस अवधिमा ५ खर्ब २१ अर्ब ६३ करोड रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो।
त्यस्तै खुद द्वितीय आय (खुद ट्रान्सफर) ५ खर्ब ६८ अर्ब २६ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब २१ अर्ब ४३ करोड रहेको थियो।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।