काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा अहिलेसम्मकै सबैभन्दा बलियो स्थितिमा देखिएको जनकपुर बोल्ड्स पहिलोपटक कोल्याप्स भएको छ।
सुदूरपश्चिमविरुद्ध भएको पाँचौं खेलमा जनकपुरका कुनै पनि ब्याटरले सम्झन लायक रन बनाउन सकेनन्। १२४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा जनकपुर १२ ओभरमै मात्र ५१ रन बनाएर अलआउट भयो। सुदूरपश्चिमले ७२ रनको फराकिलो जित निकाल्यो।
जनकपुरका लागि जोशुवा ट्रम्पल १३ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। जसका कारण पहिलो पटक जनकपुरले नराम्रो हार व्यहोर्यो।
ओपनर अनिल साह शून्य र आशिफ शेख ४ रनमा आउट भएपछि त्यसपछि जनकपुरको विकेट जाने क्रम रोकिएन। सुदूरपश्चिमका स्पिनरसामू यसरी घुँडा टेक्न थाले किन जनकपुरका लागि १२४ रनको लक्ष्य पहाडजस्तै भयो।
बलिङतर्फ सुदूरपश्चिमका लागि इशान पाण्डे, दीपेन्द्रसिंह ऐेरी र हरमितसिंह बाजवाले समान २/२ विकेट लिँदा नरेन साउद, स्कट कुग्लिजिन र सेफ जैबले एक/एक विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो। उत्कृष्ट सुरुवात पाएको सुदूरपश्चिमका दुवै ओपनर गएपछि भने त्यसपछि आएका कुनै पनि ब्याटरले सम्झनलायक रन बनाउन सकेनन्।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाउँदा सेफ जैबले २१, इसान पाण्डेले १७ र ब्रान्डन म्याकमुलेनले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ जनकपुरका किशोर महतोले महत्वपूर्ण चार विकट लिए। शेर मल्ल र अरनिको यादवले २/२ तथा हर्ष ठाकरले १ विकेट लिए। जनकपुरले लगातार चार खेल जितेकोमा अब एक हार व्यहोरेको छ भने सुदूरपश्चिम पनि चारमा जित र एकमा हारसहित आठ अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।