काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्समाथि कर्णाली याक्सले शानदार जित निकालेको छ। मात्र १०४ रनको सामान्य लक्ष्य पाएको कर्णालीले १५ ओभरमै मात्र तीन विकेट गुमाएर लक्ष्य भेट्टाउँदै जीत दर्ता गर्यो।
कर्णालीको जीतमा आज गुल्शन झाको आक्रामक ब्याटिङ र बलिङतर्फ विल बोसिस्टोको कसिलो बलिङ महत्वपूर्ण रह्यो। गुल्शनले ३७ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ४९ रन बनाए। चान्डविक वाल्टनले ३४ बलमा ५ चौका र एक छक्काको सयोगमा ४२ रनको योगदान दिए। बाबर हायतले ७ रन बनाउँदा विलिम बोसिस्टो २ रनमा नटआउट रहे। देव खनाल भने शून्यमै आउट भए।
टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्स १६ दशमलव ३ ओभरमै १०३ रन मात्र बनाएर अलआउट भएको थियो। पोखराको ब्याटिङ लाइन ध्वस्त पार्न कर्णाली याक्सका तर्फबाट विल बोसिस्टोले उत्कृष्ट बलिङ गरे।
चार ओभरमा उनले २८ रन खर्चिएर ६ विकेट लिए। एकै खेलमा यतिधेरै विकेट लिने एनपीएलको पहिलो खेलाडी बनेका छन्। वीपीन शर्मा, सोमपाल कामी र युनिससिंह ठकुरीले एक/एक विकेट लिए।
उत्कृष्ट सुरुवात पाएको पोखरा ओपनर आउट भएपछि कुनै पनि ब्याटर चल्न सकेन्। आक्रामक ब्याटिङ गरिरहेका ओपनर आन्द्र गौसको विकेट विपीन शर्मा र दिनेश खरेललाई युनिषले लिएका थिए। आन्द्रले आउट हुनुअघि १२ बलमा २५ रन र खरेलले १९ बलमा २६ रन जोडे।
त्यसपछि रेमोन रेफियरले २० रन बनाउँदा विपीन खत्री र कुशल भुर्तेलले १०/१० रन बनाउनुबाहेक अन्य ब्याटर चल्न सकेनन्। सोही कारण पनि अलआउट हुँदै पोखरा १०३ रनमै खुम्चियो। सुरुवाती रनस्कोर हेर्दा पोखरा १८० को माथि जाने सम्भावनामा देखिन्थ्यो। तर अप्रत्यासित रुपमा अलआउट हुन पुग्यो।
पाँच खेल खेलेको कर्णालीले दुईमा हार र तीनमा जित निकाल्दै ६ अंक बटुलेको छ। यता पोखराले चार खेलमा तीनमा हार र एकमा मात्र जीत निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।