काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको पहिलो खेलमा चितवन राइनोजलाई लुम्बिनी लायन्सले १६८ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रनको स्कोर बनाएको हो।
लुम्बिनीको यो स्कोरका लागि कप्तान रोहित पौडेल र सादबिन जाफरले शतकीय साझेदारी गरे। दुवै खेलाडीले अर्धशतक प्रहार गरे।
पाँचौं विकेटका लागि उनीहरुले ७१ बलमा ११४ रनको साझेदारी गरे। दोस्रो ओभरमै दुई विकेट गुमाएर दबाबमा रहेको लुम्बिनीका लागि कप्तान पौडेल र जाफरले पारी सम्हाल्दै स्कोर उकासे।
सो क्रममा लुम्बिनीका लागि कप्तान पौडेलले सर्वाधिक ८० रनको योगदान दिए। ५७ बलमा उनले ६ चौका र पाँच छक्का प्रहार गरे। उनले ४२ बलमा अर्धशतक प्रहार गरेका थिए।
यस्तै सादबिन जाफरले पनि लुम्बिनीका लागि अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ५२ रनको योगदान दिए। ओपनर अर्जुन साउदले १५ रन बनाउँदा टम मोर्सले १० रन बनाए।
लुम्बिनीले ओपनर आशुतोष घिरैयालाई एक रनमै गुमाएको थियो भने उन्मुक्त चन्द शून्यमै आउट भएका थिए। यी दुवैको विकेट दोस्रो ओभरमा चितवनका रिजन ढकालले लिएका हुन्।
यस्तै सन्दीप जोराले ४ रन बनाए। सुरुवाती पावर प्लेमा निकै खराबस्थितमा देखिएको लुम्बिनीका लागि पौडेल र जाफरले उकास्दै सम्मानजनक स्कोरसम्म पुर्याए।
यता चितवनका लागि रिजन ढकालले चार ओभरमा २९ रन खर्चिँदै ३ विकेट लिँदा कुशल मल्ल र रन्जित कुमारले एक/एक विकेट लिए। पाँचौं खेलसम्म आइपुग्दा लुम्बिनी जितविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।