काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदुषण हुने गरी चलाइएका ५२ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले रुप परिवर्तन गरी शहरी क्षेत्रमा ध्वनी प्रदुषण गर्ने बनाइएको, साइलेन्सर पाइपबाट आगोको झिल्कासमेत निकाल्ने बनाइएका मोटरसाइकल आज नियन्त्रणमा लिएको हो।
ट्राफिक प्रहरीले वन तथा वातावरण मन्त्रालय र वातावरण विभागको समन्वयमा चेकजाँच गर्दा उक्त सवारीसाधन फेला पारेको हो। ट्राफिक प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतका अनुसार नियन्त्रणमा लिएकामध्ये १६ बुलेट, १३ क्रस फायर, सात आर–१५, ६ वटा केटिएम डुक, दुईवटा वेनिली मोटरसाइकल रहेका छन्।
साइलेन्सरमा प्वाल पार्ने, साइलेन्सर निकाल्ने, परिवर्तन गर्ने, डीभी किलर झिकेर ठूलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिएका मोटरसाइकललाई वातावरण विभागद्वारा परीक्षण गरी ती मोटरसाइकल धनीलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय सतुंगल पठाइएको प्रहरी उपरीक्षक राउतले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।