काठमाडौं– नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हार बेहोरेको छ।
चौथो खेलमा पहिलो हार बेहोर्ने क्रममा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो।
चितवन राइनोजले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्स १८.२ ओभरमा १ सय ३१ रनमा अल आउट भयो।
सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे। उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे। उनी अमरसिंह राउटेलाको बलमा आउट भए। सेफ जेबले ११ बलमा १८ रन जोडे। विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ तथा नरेन साउदले ८ बलमा १० रन जोडे।
चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन, अमरसिंह राउटेलाले समान २ तथा रिजन ढकाल र रञ्जित कुमालले समान १ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो। चितवनका लागि हसन इसाखिलले अर्धशतकीय पारी खेलेका थिए।
उनले ५२ बलमा ६५ रनको इनिङ्स खेले। त्यसपछि महत्वपूर्ण इनिङ्स रवि बोपाराको रह्यो। उनले १८ बलमा ३६ रन बनाए। कुशल मल्लले १३ रन बनाउँदा विपीन रावलले १७ बनाए भने सन्तोष कार्कीले ९ रन बनाए।
यता बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्लिजएनले २ विकेट लिँदा ब्रान्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी र सेफ जैबले एक/एक विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।