काठमाडौं– नेपाली क्रिकेट राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले जारी नेपाल प्रिमियर लिगमा लगातार चौथो हार व्यहोरेको छ।
लगातार पहिलाका तीन खेलमा नराम्रो हार व्यहोरेको लुम्बिनी चौथो खेलमा जनकपुर बोल्ड्ससँग मात्र एक रनले हार्न पुग्यो।
जनकपुरले दिएको १३७ रनको लक्ष्य भेट्टाउने क्रममा २० ओभरमा लुम्बिनीले ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो।
जनकपुरको जितमा हर्ष ठाकरको बलिङ उत्कृष्ट रह्यो। चार ओभर बलिङ गरेका उनले मात्र २३ रन खर्चिँदै पाँच विकेट लिए। शेर मल्ल, ललितराज वंशी र किशोर महतोले एक/एक विकेट लिए।
लुम्बिनीको हारमा ब्याटरहरु एकपछि अर्को खराब सट खेल्दै क्याचआउट हुनु नै रह्यो।
लुम्बिनीका लागि कप्तान पौडेलले ३८ बलमा तीन चौकासहित ३५ रनको योगदान दिए। ओपनर आशुतोष घिरैया मात्र आठ रनमा आउट भए। अर्का ओपनर अर्जुन साउदले पनि ललित राजवंशीबाट बोल्ड हुनुअघि २० रन बनाए।
टम मोर्सले २३ बलमा ३१ रन बनाए। उनले तीन चौका र एक छक्का हिर्काए। सन्दीप जोराले १६ रन बनाउनुबाहेक अन्य ब्याटर चल्न सकेनन्।
यता जनकपुरका लागि बलिङतर्फ हर्स ठाकरले सर्वाधिक चार विकेट लिए। ललितराजवंशी, शेर मल्ल र किशोर महतोले एक/एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएको थियो।
जनकपुरका लागि ओपनर अनिल साहले सर्वाधिक ४५ रनको इनिङ्स खेले। यस्तै लाहिरु मिलान्थाले २४ रन बनाउँदा आसिफ शेखले १६ रनको योगदान दिए। भने शुभ कंसाकारले २२ रन बनाए।
यता बलिङतर्फ लुम्बिनीका लागि अभिशेष गौतमले सर्वाधिक ३ विकेट लिए। चार ओभर बलिङ गर्दै उनले २० रन खर्चिएर ३ विकेट लिएका हुन्।
कप्तान रोहित पौडेलले २ विकेट लिँदा सादबीन जाफरले पनि दुई विकेट लिए भने सन्दीप जोराले एक विकेट लिए। पहिला टस जित्दै लुम्बिनीले जनकपुरलाई ब्याटिङको निम्तो दिएको थियो।
जनकपुर लगातार चौथो खेल जित्दै ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। भने चार खेल हारेको लुम्बिनी पुछारमा छ। अब लुम्बिनीका लागि प्ले अफ यात्रा झन कठिन बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।