काठमाडौं– सुरुवाती दुई खेलमा नराम्रो पराजय भोगेको पोखरा एभेन्जर्सले जारी नेपाल प्रिमियर लिगमा शानदार कमब्याक गरेको छ। शुक्रबार त्रिवि मैदानमा भएको आफ्नो तेस्रो खेलमा पोखराले लुम्बिनीलाई १० विकेटले पराजित गरेको छ। त्यो पनि १७१ रनको चुनौतीपूर्ण लक्ष्य ओभरमै भेट्टाएर।
लिगका आठ टिममध्येकै महँगो टिम पोखरा पहिलो खेलमा चितवन राइनोजसँग नराम्रोसँग पराजित भएको थियो। दोस्रो खेल जनकपुरसँग पनि प्रतिस्पर्धात्मक हुन सकेन। तर तेस्रो खेलमा जारी लिगकै तेस्रो ठूलो लक्ष्य पोखराले आक्रामक तरिकाले जितेको छ।
यता लुम्बिनीको दोस्रो हार हो। पहिलो खेल विराटनगर किंङ्सविरुद्ध लिगकै ठूलो १९२ रनको लक्ष्य दिए पनि त्यो खेल लुम्बिनीले जोगाउन सकेन। आज दोस्रो पनि १७१ रनको चुनौतीपूर्ण लक्ष्य खडा गरे पनि पोखराका ओपनरसामू लुम्बिनीका कुनै बलर चल्न सकेनन्। मात्र १६ दशमलव पाँच ओभरमै पोखराले लक्ष्य भेट्टाएर पहिलो जित दर्ता गर्यो।
पहिलो ओभरबाटै आक्रामक ब्याटिङ गरेका पोखराका ओपनर यति हाबी भए कि लुम्बिनीका बलरले हरेक ओभरमा दोहोरो बाउन्ड्री दिन पुगे। पोखराको जितका लागि ओपनर आन्द्रे गौस र दिनेश खरेलले आक्रामक ब्याटिङ गरे। जारी लिगमा विना विकेट क्षति शानदार जित दर्ता गर्ने टिम पनि पोखरा नै पहिलो बनेको छ।
पोखराका ओपनर गौसले लिगमै सबैभन्दा छिटो अर्धशतकसमेत बनाएका छन्। उनले मात्र २० बलमा चार छक्का र चार चौकाको सहयोगमा अर्धशतक प्रहार गरे। त्यति मात्र नभइ जारी लिगमा शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत गौस नै बनेका छन्। ५४ बलमा १२ चौका र पाँच छक्काको मद्दतमा उनले एनपीलको पहिलो शतकसमेत बनाएका हुन्।
खेलभर उनले नटआउट रहँदै ५५ बलमा १०४ रन बनाए। यता दिनेश खरेलले पनि आक्रामक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे। उनले ३९ बलमा अर्धशतक प्रहार गरेका हुन। खरेलले तीन छक्का र चार चौका प्रहार गरे। उनले पनि खेलभर नटआउट रहँदै ४६ बलमा चार चौका र चार छक्कासहित ६१ रन बनाए।
त्यसअघि लुम्बिनीले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १७० रन बनाएको थियो। लुम्बिनीका लागि आज कप्तान रोहित पौडेलले ९५ रनको इनिङ्स खेले। मात्र ५९ बलमा १० चौका र चार छक्का प्रहार गरेका थिए। तर उनको यो आक्रामक इनिङ्स भने जितका लागि काम लागेन।
ब्याटिङ अर्डर राम्रै भए पनि बलिङ र फिल्डिङ बलियो नहुँदा बलियो लक्ष्य बनाएको लुम्बिनी दुवै खेलमा जित दर्ता गर्नबाट चुक्यो। लु्म्बिनीका लागि टम मोर्सले ४५ र सन्दीप जोराले १८ रन बनाएका थिए।
यता बलिङमा पोखराका लागि विपीन खत्रीले दुई विकेट लिँदा म्याट क्रिच्लिले एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।