काठमाडौं– जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३० रन बनायो। चितवनका लागि रवि बोपाराले आक्रामक अर्धशतकीय पारी खेले।
मात्र ३५ बलमा अर्धशतक बनाएका बोपाराले ४० बलमा सात चौका र एक छक्काको सहयोगमा नटआउट ५९ रन बनाए।
यस्तै कप्तान कुशल मल्लले २७ बलमा २३ रन बनाउँदा बिपीन रावलले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यता कर्णाली याक्सका लागि ट्यालेन्ट हन्टबाट आएका बिपीनप्रसाद शर्माले तीन विकेट लिए। चार ओभरमा २१ रन खर्चिएको महत्त्वपूर्ण तीन विकेट लिएका हुन्।
जिसान मक्सुदले २ विकेट लिँदा सोमपाल कामी र नन्दन यादवले एक/एक विकेट लिए। आज कर्णालीका लागि जित निकै महत्त्वपूर्ण रहेको छ। यसअघिका दुई खेल कर्णालीले लगातार गुमाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।