काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्स अहिलेसम्मकै कम स्कोरमा अलआउट भयो।
मंगलबार चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराले चौथो ओभरमा ७ रन जोड्दा आफ्ना ६ ब्याटर गुमाइसकेको थियो। पोखरा १३.२ ओभरमा ७४ रनमै अलआउट भयो।
पोखराको ब्याटिङ ध्वस्त पार्ने क्रममा चितवनका बायाँ हाते तीव्र गतिका बलरद्वय सोहेल तन्विर र रिजन ढकालले एक ओभरमै तीन-तीन विकेट लिएका थिए।
पहिलो खेलमा लज्जास्पद हारपछि पोखराका प्रशिक्षक राजीव कुमारले क्रिकेटमा कहिलेकाहीँ कम स्कोरमा अलआउट हुने बताउँदै बाँकी खेलमा राम्रो खेल्ने बताए।
‘यो हाम्रो लागि प्रतियोगिताको पहिलो खेल हो। हामीले केही गल्ती गरेका कारण खराब ब्याटिङ गर्यौं। अर्कोतर्फ चितवनसँग राम्रा बलर थिए। उनीहरूले राम्रो एरियामा बलिङ गरे,’ आइपिएल टोली चेन्नई सुपरकिंग्सका ब्याटिङ प्रशिक्षक रहिसकेका राजीवले भने, ‘हामीसँग राम्रो ब्याटिङ लाइनअप थियो। त्यसैले १५० रन माथिको स्कोर पार गर्ने योजना थियो। तर हामी सफल भएनौं।’
उनले पहिलो खेलको हारले चिन्तित नभएको बताउँदै अहिलेको अवस्थालाई ‘सेटल’ गर्ने पनि बताए। ‘७ रन जोड्दा ६ विकेट गएको कसैले पनि चाहँदैन,’ आफ्नो टोलीको ड्रेसिङ रूम अवस्थाबारे भने।
उनले अन्तर्राष्ट्रिय खेलमा पनि यस्तो कम स्कोर हुने बताउँदै आगामी खेलमा राम्रो गर्ने आत्मविश्वास रहेको बताए।
‘टोलीमा विभिन्न स्थानबाट आएका खेलाडी छन्। सबै खेलाडीले एकअर्कालाई बझ्न र कमजोर/बलियो पक्ष थाहा पाउन समय लाग्छ। हामीसँग राम्रा खेलाडी छन्। आगामी खेलमा राम्रो हुनेछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।