काठमाडौं– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रामक अर्धशतकीय पारीमा विराटनगर किङ्सलाई १८३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८२ रनको विशाल स्कोर खडा गरेको हो। सुदूरपश्चिचमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अर्धशतकीय पारी खेले।
उनले मात्र २४ बलमा पाँच छक्का र तीन चौकाको सहयोगमा नटआउट ५७ रन जोडे। यस्तै ब्रान्डन म्याकमुलेनल ३६ रन जोडे। उनले २६ बलमा दुई चौका र दुई छक्का प्रहार गरे। यस्तै तीन रन लिन खोज्दा रनआउट हुन पुगेका इसान पाण्डेले पनि १६ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २१ रन जोडे।
ओपनर विनोद भण्डारीले चार चौकाको सहयोगमा २० बलमा २३ रन जोड्दा सैफ जैबले १४, स्कट कुगेलेइनले १० रन जोडे भने आरिफ शेखले ५ बलमा ९ रन जोडे। बसन्त खत्री भने चार रनमा नटआउट रहे। ओपनर अमृत श्रेष्ठ १ रनमा आउट भएका थिए।
यता विराटनगर किङ्सका लागि भने अनिल खरेलले सर्वाधिक ३ विकेट लिए। चार ओभरमा २६ रन खर्चिँदै तीन विकेट लिएका हुन्। यस्तै क्रिस सोल, इस्मत आलम र बसिर अहमदले १/१ विकेट लिए। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय विराटनगरले लिएको थियो।
विराटनगर किङ्सको यो दोस्रो खेल हो। पहिलो खेल शुक्रबार जनकपुर बोल्ड्ससँग पराजित भएको थियो। आज विराटनगर पहिलो जितको खोजीमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।