काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा कर्णाली याक्सविरुद्द जनकपुर बोल्ट्सले शानदार जित प्रदर्शन गरेको छ।
अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो।
ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे ।
अनिलले मार्की खेलाडी आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे ।
दोस्रो विकेटका लागि अनिल र लाहिरु मिलान्थाले ३३ रनको साझेदारी गरे । अघिल्लो खेलमा विराटनगर विरुद्ध अर्धतशक बनाएका मिलान्थाले १३ बलमा २ चौका र २ चौका प्रहार गर्दै २४ रन बनाए ।
जिम् नीशमले अविजित १६ रन योगदान गरे । ८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।
कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ रोजेको कर्णाली याक्सका सोमपाल १३ बलमा २९ रनमा अविजित रहे। अर्जुनले २२ बलमा ३३ रन बनाए। पछिल्लो २ ओभरमा कर्णालीले ४३ रन जोड्यो अर्जुनले १९औं ओभरमा २२ रन प्रहार गरेका थिए। नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए।
कर्णालीका कुनै पनि विदेशी खेलाडी चल्न सकेनन्। भारतिय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडी फ्लप भए। एक खेलको ४० लाख पारिऋमिकमा एनपीएलले खेल्ने आएका शिखरले १४ बलमा १४ रन बनाउँदै आउट भएका थिए।
चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए। बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।