काठमाडौं– स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।
बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिए।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो। यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन्।
उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा मत खसेको छ भने सबैभन्दा कम काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा मत खसेको छ।
देशभरका विभिन्न ४१ स्थानमा सम्पन्न स्थानीय तहको उपनिर्वाचन भएका ४१ स्थानमध्ये अधिकांश वडामा आजैबाट मतगणना सुरु हुने आयोगले जनाएको छ। आयोगका अनुसार ३३ वडाको निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित वडा कार्यालयमा नै रहेकाले उक्त वडामा मतदान सकिए लगत्तै मतगणना सुरु हुने तयारी रहेको छ। उपनिर्वाचनको मतपरिणाम आउन पर्सिपल्ट नभई भोलिपल्ट नै अन्तिम मतपरिणाम आउने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।