काठमाडौं– भोलिदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सको टिमबाट खेल्न भारतका चर्चित खेलाडी शिखर धवन नेपाल आइपुगेका छन् ।
उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन्। उनलाई कर्णाली याक्स टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। एनपीएल खेल्न आउने धवन सबैभन्दा ठूलो नाम हो।
बाँयाहाते ब्याटर उनले ओपनिङमा खेल्ने गर्छन् भने भारतीय टोलीबाट सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप जितेका छन्। त्यसैगरी आइपीएल टीम सनराइजर्स हैदराबादबाट आइपीएलको उपाधि पनि जितेका छन्।
उनले भारतका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६६ खेलबाट १७५९ रन बनाएका छन् भने सबैखाले टी२०मा ३३४ खेल खेल्दा २ शतक र ७० अर्धशतकसहित ९७९७ रन बनाएका छन्। आइपीएलमा मात्र उनको ६७६९ रन छ।
कर्णालीका अन्य विदेशी खेलाडीमा हङकङका बाबर हायात, वेस्टइन्डिजका चाडविक वाल्टन र ओमानका जीशान मकसुद छन्। उनीहरू तीनैजना नेपाल आइसकेका छन्।
हालसम्म १५ देशका ४० जना विदेशी खेलाडीहरू एनपीएलका लागि अनुबन्धित छन्। तीमध्ये यो समाचार तयार पार्दासम्म १२ देशका २८ जना विदेशी खेलाडी नेपाल आइसकेका छन्।
एक टिमले चारजना विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने प्रावधान छ भने उपलब्धता हेरेर ६ जनासम्म विदेशी राख्न पाउँछन्। एनपीएलका लागि पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सले ६-६ जना खेलाडी अनुबन्ध गरेका छन् भने कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले ४-४ खेलाडी अनुबन्ध गरेका छन् । अन्य चार टोलीले ५-५ जना विदेशी खेलाडी राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।