काठमाडौं– यू–१९ एसियाकपको सुरुवात नेपालले पराजयसँगै सुरु गरेको छ। शुक्रबार भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको हो।
यूएईको सारजहाँ क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा श्रीलंकाले नेपाललाई ५५ रनले हराएको हो। श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १ सय ७८ रन बनाउँदै अल आउट भयो।
नेपालका लागि ओपनर मयनले ९१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६२ रन बनाए। अर्का ओपनर आकाश त्रिपाठीले ३३ बलमा १९, उत्तम थापाले १७, अर्जुन कुमाल र नरेन भट्टले समान १२ तथा नरेन साउदले १६ रन जोडे।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरको अन्तिम बलमा अल आउट हुदै २ सय ३३ रनमा समेटिएको थियो। श्रीलंकाका लागि शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन जोडे।
लक्भीन अबेसिंगाले ५० बलमा ५३ रन जोड्दा कभिजा गिमामगेले ४३ बलमा ३७ रन बनाए। दुलनिथ सिंगारा र भिमथ दिनसाराले समान २४ रन जोडे। नेपालका लागि सन्तोष यादवले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए। युवराज खत्रीले १० ओभरमा ४४ रन खर्चिएर २ विकेट लिए । कप्तान हेमन्त धामी र नरेन साउदले समान १ विकेट लिए।
एसिया कपमा नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्नेछ। समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ। खेल ५० ओभरको हुनेछ।
एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका ८ देशले सहभागिता जनाएका छन्। प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए। गत वर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूह बीमा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । फाइनल मंसिर २३ गते हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।