काठमाडौं– शनिबारदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सबाट खेल्नका लागि पहिलो विदेशी खेलाडी नेपाल आइपुगेका छन्।
इंग्ल्याण्डका विकेटकिपर ब्याटर टम मूर्स बिहीबार राति काठमाडौं आइपुगेका हुन्। उनलाई टिमका अफिसियलहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।
लुम्बिनीका अन्य विदेशी खेलाडीमा अस्ट्रेलियाका स्टार अलराउण्डर बेन कटिङ, क्यानडाका कीर्तिमानी अलराउण्डर साद बिन जफर, अमेरिकाका भारतीय खेलाडी उन्मुक्त चन्द र वेस्ट इन्डिजका रामोन सिमण्ड्स छन्।
मूर्सबाहेक अन्य खेलाडी आउन बाँकी छ। लुम्बिनीले आफ्नो पहिलो खेल बुधबार दिउँसो सवा १ बजे विराटनगर किंग्ससँग खेल्ने छ।
टिमको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल छन्। उनीसँगै राष्ट्रिय टोलीका विस्फोटक ब्याटर सन्दीप जोरा तथा राष्ट्रिय टोलीबाट खेलिसकेका विवेक यादव, अर्जुन साउद र सूर्य तामाङ पनि टोलीमा छन्।
यस्तै एनपीएलमा चितवन राइनोज्मा पाकिस्तानी खेलाडी सोहेल तनवीर अनुबन्ध भएका छन्। लामो समय पाकिस्तानी राष्ट्रिय टोलीबाट खेलका तनवीरलाई चितवनले एनपीएलका लागि अनुबन्ध गरेको हो।
उनले आईपीएलमा राजस्थान रोयल्सबाटसमेत खेलिसकेका छन्। उनी पाकिस्तान सुपर लिग टोलीका विजेता सदस्यसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।