काठमाडौं – कालीमाटीस्थित सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको खुलेको छ।
उदयपुर घर भएकी ४५ वर्षीया जानुका सुर्खेती मृत फेला परेपछि प्रहरीले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको थियो।
अस्पतालल पोष्टमार्टम रिपोर्टबारे प्रहरीलाई जानकारी गराएको छ। जसअनुसार सुर्खेतीको हत्या नभई कलेजो रोगबाट मृत्यु भएको उल्लेख गरिएको प्रहरी स्रोतले जानकारी दियो।
‘कज अफ डेजमा लिभर डिजिज उल्लेख छ,’ एक अनुसन्धान अधिकारीले अनलाइनखबरसँग भने। सडकमा मृत फेला परेकी ती महिलाको शव बोकेर एक युवकले सडक पार गरेका थिए।
महिलाको शव बोकेर फालेको आरोपमा पक्राउ बझाङको बित्थडचिर गाउँपालिका-९ घर भएका २२ वर्षीय कविन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
मल्ललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ८ मंसिरमा कुलेश्वरबाट पक्राउ गरेको थियो। ८ मंसिरको बिहान कालीमाटीस्थित संगीतकारमार्गमा एक महिलाको शव भेटिएको थियो। नाम, थर र वतन नखुलेकी महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सो क्रममा सीसीटीभी फुटेजमा युवकले महिलालाई बोकेर त्यहाँ फालेको देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।