काठमाडौं– यू–१९ पुरुष एसिया कप तयारीका लागि भारतको कर्नाटक यू–१९ सँग भएको तेस्रो अभ्यास खेलमा आज नेपालले २८३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। ठूलो स्कोरका लागि नेपालका तीन ब्याट्सम्यानले अर्धशतक प्रहार गरेका छन्।
मुलपानी क्रिकेट मैदानमा आइतबार टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रनको बलियो योगफल खडा गर्यो। नेपालका लागि रोशन विकले ५७ बलमा नटआउट ८१ रनको योगदान दिँदै बलियो योगफलसम्म पुर्याएका हुन्। उनले ६ चौका र ३ छक्का प्रहार गरे।
ओपनरद्वय आकाश त्रिपाठी र मयनले संयमित ब्याटिङ गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। त्यसपछि मध्यक्रममा रोशन र उत्तमले आक्रामक ब्याटिङ गर्दै नेपाललाई ठूलो स्कोरसम्म पुर्याए।
आकाश र मयनले १३ ओभरमा ६३ रनको साझेदारी गरेका थिए। आउट हुनुअघि आकाशले २६ रन जोडेका थिए। उनले ४० बलमा ४ चौका प्रहार गरे। त्यसपछि अर्जुन र मयनले ५२ रनको साझेदारी गरे। अर्जुनले २७ रन जोडे।
मयनले ९८ बलको सामना गर्दै ६ चौका र २ छक्कासहित ५८ रन जोडे। नरेन भट्टले १४ रन बनाए। रोशन विक र उत्तमले भने आज आक्रामक ब्याटिङ गरे। उचचममले ४४ बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाए।
कर्नाटकका लागि स्पिनरद्वय लोहिथ र वासुले २-२ विकेट लिँदा इसा पुथिगे र प्रणव अश्वथले १-१ विकेट हात पारे। ५ खेलको सिरिज १-१ को स्थितिमा रहेको छ। पहिलो खेल कर्नाटकले जित्दा दोस्रो नेपालले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।