काठमाडौं– आगामी मंसिर १५ गतेदेखि हुन लागेको नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रशारण विश्व चर्चित टेलिभिजन स्टार स्पोर्टसबाट हुने भएको छ।
शुक्रबार नेपाल क्रिकेट संघ क्यानले पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काले पहिलो संस्करणको प्रत्यक्ष प्रशारण स्टार स्पोर्टसले गर्ने जानकारी दिए।
स्थानीय च्यानलहरुले आफूहरुले पाउनुपर्ने माग गरे पनि दर्शकको चाहना र पहिलोपटक हुन लागेको यति ठूलो लिगलाई विश्वस्तरमा चिनाउनका लागि उक्त च्यानललाई दिइएको हो।
यस्तै एनपिएलको मुख्य प्रायोजक सिद्धार्थ बैंक लिमिटेड रहेको छ। आगामी पाँच वर्षसम्मका लागि मुख्य प्रायोजकमा सिद्धार्थ बैंकसँग सम्झौता भएको क्यानले जनाएको छ। कति रकममा सम्झौता भएको नखुलाए पनि खड्काले अहिलेसम्मकै धेरैमा भएको जानकारी दिए।
घोषणापछि बैंकका सीईओ सुन्दरप्रसाद कँडेलले नेपाली क्रिकेट इतिहासमा एनपिएलको मुख्य प्रायोजक हुन पाएकोमा खुसी व्यक्त गरे। साथै उनले क्रिकेट विकासका लागि एनपिएल ऐतिहासिक फड्कोका रुपमा रहने दाबीसमेत गरे।
बैंकले खेल विकासका लागि हातेमालो गर्न सधैं तत्पर रहेकोसमेत बताए। नेपालका क्रिकेटको जुन चर्चा छ त्यसैबीचमा एनपिएलले झन एसिया क्षेत्रमा आफ्नो उपस्थितिसमेत मजबुद बनाउने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।