काठमाडौं– १९ वर्षमनुनिको पुरुष एसिया कप तयारीका लागि कर्नाटक यू–१९ सँगको पाँच खेलको सिरिजमध्ये दोस्रो खेलमा नेपालले सहज जित निकालेको छ।
शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले आकाश त्रिपाठीको अर्धशतकमा सात विकेटको जित निकालेको हो। टस जित्दै पहिले ब्याटिङ गरेको कर्नाटक १२१ रनमै अलआउट भएको थियो।
१२२ रनको सामान्य लक्ष्य नेपालले २५ औं ओभरमा मात्र तीन विकेट गुमाउँदै पुरा गर्यो। पहिलो खेल कर्नाटकले एक विकेटले जितेको थियो। नेपालको आज जितका लागि ओपनर आकाश त्रिपाठीले नटआउट ५२ रनको इनिङस खेले।
आकाश र मयन यादवले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। मयनले १२ औं ओभरमा लङ अनमा क्याच आउट हुनुअघि ३२ रन जोडे। त्यसपछि नरेन भट्ट १४ रन जोड्दै आउट भए। उत्तम थापा मगरले भने नटआउट १४ रन जोडे।
टस जितेर पहिलो ब्याटिङ रोजेको कर्नाटक यू१९ले ३८.१ ओभरमा अलआउट हुनुअघि १ सय २१ रनमात्र जोड्यो। एक समय ९९-३ को स्थितिमा रहेको कर्नाटकले त्यसपछि सम्हालिन नसक्दा २२ रनको अन्तरमा ७ विकेट गुमायो।
ओपनर प्रतिकले ३७ र रिशाभले ४० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन। नेपालका लागि नरेन १० ओभर बलिङ गर्दै ३ मेडनसहित २० रन खर्चेर ४ विकेट लिए। हेमन्तले ५.१ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ४ विकेट नै हात पारे। अर्को विकेट सन्तोष यादवको नाममा रह्यो।
पहिलो खेलमा कर्नाटक १ विकेटले विजयी रहेको थियो। सिरिजको तेस्रो खेल आइतबार हुनेछ। ५ खेल हरेक खेलपछि एक दिन विश्राममा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।