एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले चार वर्षअघिको चुनावमा आफूले पराजित गरेको रिपब्लिकन पार्टी र यसका नेता डोनाल्ड ट्रम्पलाई व्यवस्थित रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएपछि दुई नेताबीच बुधबार ह्वाइट हाउसमा भेटवार्ता हुनेभएको छ।
सन् २०२० को चुनावमा हार अस्वीकार गर्नुभएका ट्रम्पले नोभेम्बर ५ मा भएको मतदानबाट अमेरिकी राष्ट्रपति पदमा उल्लेखनीय बहुमतसहित पुनरागमन गर्नुभएपछि राष्ट्रपति बाइडेनले व्यवस्थित रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।
निवर्तमान र भावी राष्ट्रपतिहरूबीच यस प्रकारको भेटघाटलाई परम्परागत मानिन्छ तर जनवरी ६, २०२१ को क्यापिटल दङ्गामा परिणत भएको अप्रमाणित चुनावी धाँधलीको दाबी गर्दै ट्रम्पले तत्कालिन समयमा राष्ट्रपति निर्वाचित बाइडेनलाई व्यवस्थित सत्ता हस्तान्तरण र भेटवार्ताका लागि निमन्त्रणा गरेका थिएनन्।
त्यस्तै ट्रम्पले आफ्ना आलोचक निक्की हेली र माइक पोम्पेओलाई आफ्नो मन्त्रीमण्डलमा समावेश नगर्ने बताएका छन् ।
नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारीमा रहेका ट्रम्पले उनीहरूले पहिले गरेको कामका लागि धन्यवाद दिँदै अबको मन्त्रीमण्डलमा भने समावेश नगर्ने बताएका हुन् ।
साउथ क्यारलाइनाकी पूर्व गर्भनर हेली यस वर्षको सुरुवातमा रिपब्लिकन पार्टीका राष्ट्रपति पदका दावेदारहरूमध्ये ट्रम्पको सबैभन्दा बलियो प्रतिद्वन्द्वी थिइन् । उनले ट्रम्पको आलोचना गर्दै ‘क्रेजी’ भनेको कुरा समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमा चर्चा पाएको थियो ।
माइक पोम्पेओ ट्रम्प पहिलोपटक राष्ट्रपति बन्दा विदेशमन्त्री थिए । पोम्पेओमाथि पर्दा पछाडि बसेर विशेष समूहहरूको स्वार्थका लागि काम गर्ने प्रतिनिधि भएको आरोप लाग्ने गरेको छ ।
ट्रम्पनिकट सहयोगीहरूले निक्की र माइकलाई ट्रम्पविरुद्ध काम गरेको आरोप लगाउँदै उनीहरुले ट्रम्पको ‘अमेरिका फर्स्ट’ भन्ने एजेन्डालाई कमजोर पार्न सक्ने बताउँदै आएका छन् । त्यसैले ट्रम्प उनीहरूलाई मन्त्रीमण्डलमा नसमेट्ने निष्कर्षमा पुगेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।