काठमाडौँ – नेपाल प्रिमियर लिग रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
जोरा स्पोर्टस म्यानेजमेन्टका तर्फबाट आमीर अख्तरले रिट दायर गरेका हुन् । उनको रिट आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको छ।
उनले उक्त फ्रेन्चाइज आफ्नो नाममा १० वर्षका लागि नेपाल क्रिकेट संघले सहमति गरेर दिएकाले अहिले अरू नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने जिकिर सर्वोच्चमा लिएका बताए ।
उनले यसअघि आफूसँग सहमति नगरी नेपाल प्रिमियर लिग सञ्चालन नगर्न क्यानलाई आमिर अख्तरको चेतावनी दिएका थिए । तर क्यानले आफ्नै तरिकाले एनपिएलको तयारी अघि बढाएको थियो । प्रतियोगिता आगामी मङ्सिर १६ गतेदेखि काठमाडौँमा आयोजना हुने भनिएको छ ।
सर्वोच्च अदालतले पहिलो सुनुवाइ आइतबार गर्दै छ। सर्वोच्चले पहिलो सुनुवाइमा कारण देखाऊ आदेश र लिखित जवाफ माग गर्ने छ। सर्वोच्चले विषयको गम्भीरता हेरेर अन्तरिम आदेश पनि जारी गर्न सक्छ ।
यदि सर्वोच्चले एकतर्फी सुनुवाइ गरेर अन्तरिम आदेश जारी गरेमा एनपिएल रोकिने छ। तर सर्वोच्चले अन्तरिम आदेशमा रोक्नुपर्ने कारण र आधार भने खुलाउने छ। सर्वोच्चले यो नगरी दुवै पक्षलाई छिटै छलफलमा बोलाएर उक्त अवधिसम्म अन्तरकालीन आदेश जारी गर्न पनि सक्छ । यस्तो आदेश जारी गरेमा एनपिएलका कुनै पनि काम रोकिने छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।