सुर्खेत– प्रहरीको लापरबाहीका कारण दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन भएको छ।
शुक्रबार दैलेख र सुर्खेतको सिमाना रातानाग्ला गाडी दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले शनिबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलन गरेका हुन्।
रातानाग्लामा दुर्घटना भएको १५ सिटको गाडीमा ३४ जना सवार थिए। आन्दोलनकारीले दैलेखका प्रहरी चेक पोष्टका कर्मचारीहरूलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको उपचार राज्यले गर्नुपर्ने लगायतका माग राखेका छन्।
यातायातसँग सम्बन्धित ऐन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी चालक र धनीलाई कारबाही गर्नुपर्ने उनीहरूको अर्को माग छ।
शुक्रबार दैलेखबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको गाडी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना भएको थियो। उक्त गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका छन्।
घाइते ११ जनाको नेपालगञ्ज र ९ जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। १० जना डिस्चार्ज भएको सुर्खेत प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।