काठमाडौं– एसियान क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा यु १९ एसिया कपको पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्ने भएको छ।
एसिसीले शुक्रवार जारी गरेको प्रतियोगिताको खेल तालिका अनुसार मंसिर १४ देखि २३ गतेसम्म हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ। दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्ने नेपालले अन्तिम खेलमा मंसिर १८ मा अफगानिस्तानको सामना गर्नेछ।
५० ओभरमा हुने खेल युएईमा आयोजना हुदैछ। एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन्। प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए। गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूह विभाजनमा नेपाल समूह बी मा रहेको छ। नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्।
समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन्। हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन्। सेमिफाइनलका २ विजेताबीच मंसिर २३ मा फाइनल खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।